जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व

जन्मभुमि खबर ,

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । संघको तीन दशक लामो इतिहासमा पहिलोपल्ट जानुका पराजुली अधिकारी प्यानल निर्वाचित हुँदै इतिहास रचेको हो ।

संघको १५ औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न मतगणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन् । लामो समयदेखि संघमा आबद्ध जानुका यसअघि महासचिव थिइन् ।

कुल २०१९ मतदातामध्ये चुनावमा १८८१ मत खसेको थियो । जसमा विजयी जानुकाले ९९६ मत प्राप्त गरेकी हुन् । ओझाको पक्षमा ८३३ मत आएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।

पदाधिकारीतर्फ सम्पूर्ण मतगणना कार्य सकिएमा सदस्यको केही मात्र मत गन्न बाँकी छ । उम्मेदवारबीच मतान्तर र गणना बाँकी अनुपात हेर्दा जानुकाको प्यानलबाट पदाधिकारीका अलावा सदस्यहरु सबैजसो आउने निश्चितप्रायः छ ।

जानुका प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला निर्वाचित भए । उनले ९६६ मत प्राप्त गर्दाका ओझा प्यानलबाट उपेन्द्रराज सुवेदी (राजु) ले ८५३ मत ल्याएका छन् ।

प्रथम उपाध्यक्षमा निर्वाचित विक्रम कर्माचार्यले ११५० मत ल्याउँदा उनका प्रतिस्पर्धी मेनुका श्रेष्ठले ६७४ ल्याइन् ।

त्यस्तै, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) १२१८ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी धीरजकुमार श्रेष्ठले ६०३ ल्याएका छन्।

महासचिवमा भरतराज ओझा निर्वाचित भए । उनले ९५५ मत ल्याए । उनका प्रतिस्पर्धी जीवन तिवारीले ८७६ ल्याए । महासचिवमा झिनो मतान्तरले भरतराज ओझा निर्वाचित भएका हुन् ।

उपमहासचिवमा गंगाकुमारी मल्लले लक्ष्मीप्रसाद ढुंगाना (एलपी) लाई पराजित गरिन् । गंगाले १०६६ ल्याउँदै निर्वाचित हुँदा लक्ष्मले ७६६ मत ल्याएका हुन् ।

कोषाध्यक्षमा हरि बस्ताकोटीले १०२७ मत ल्याउँदै निर्वाचित हुँदा अर्का उम्मेदवार टीकाराम सापकोटाको पक्षमा ७७८ मत परेको छ ।

संस्थागत सदस्यमा दुवै समूहका साझा उम्मेदवार वीरभद्र कँडेल निर्विरोध भए । एसोसियट सदस्यमा जानुका प्यानलकै दयाराज भण्डारी निर्वाचित भए ।

संघको शुक्रबारदेखि २९ औं साधारणसभा तथा १५ औं महाधिवेशन सुरु भएको हो । २ वर्षे कार्यकालका लागि पदाधिकारीसहित १९ सदस्यीय कार्यसमितिका लागि कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

सदस्यतर्फ निर्वाचितको घोषणा हुन बाँकी छ । खुला सदस्यमा जानुका प्यानलबाट भविन्द्र पुन (भविन), वीरेन्द्रराज भूर्तेल, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, सन्दीप बुढाथोकी र सुजन न्यौपाने छन् । महिला सदस्यमा गंगा सापकोटा परियार र शर्मिला श्रेष्ठ उम्मेदवार छन् ।

जानुका प्यानललाई नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ थियो । ओझालाई एमाले, राप्रपा र रास्वपाले साथ दिएका थिए ।

२०७२ मा संघमा आमा समूह तथा संघसंस्था परिचालन समिति संयोजक भई कुशलतापूर्वक भूमिका निर्वाह गरेकी जानुका २०७४/७६ को कार्यकालमा महिला सदस्यको रूपमा संघमा निर्वाचित भएकी हुन् ।

२०७६/७८ मा कोषाध्यक्ष निर्विरोध निर्वाचित भइन् । अर्को चुनावमा उपमहासचिव चुनिदै ०८० मा महासचिव बनेकी थिइन् । त्यसबेला संघको इतिहासमै पनि महासचिव निर्वाचित हुने पनि उनी पहिलो महिला थिइन्।