जन्मभुमि खबर ,
पोखरा ।
म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
साहुको अत्याचार र दुर्व्यवहार सहन नसकेर फार्मनजिक रहेको पुलमा झुण्डिएर आत्महत्या गरेको तुलसँगै एउटै कम्पनीमा कार्यरत अर्का कामदार मिलन तामाङले फोनमार्फत जानकारी गराएको मृतक तुलका काकाको छोराभाइ सुजन पुनले बताए ।
तुल्सी गत असोजमा मात्र इपिएसमार्फत त्यहाँ पुगेका थिए । कोरियामा तुल्सीको मृत्यु भएको खबरले परिवारका सदस्य शोकमा डुबेका छन् । कोरियाबाट म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले तुल्सीको मृत्यु भएको र शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको जानकारी दिए ।
आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी रहेको जनाइएको छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र संलग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् ।
मृतक तुल्सी पुन मगरका एक दाजु र एक बहिनी छन् । बुबाआमाको पहिले नै निधन भइसकेको छ ।