जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मकवानपुरको भीमफेदीमा माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये अहिलेसम्म चालकको मात्र पहिचान खुलेको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो ।

काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको उक्त गाडी दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको हो ।

चालक सर्लाहीको कविलास गाउँपालिकाका रवि शंकर कुमार मण्डल रहेको मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

बाँकी ९ मृतकको भने सनाखत हुन बाँकी छ ।

यसैबिच दुर्घटनामा घाइते भएका ६ जनाको भने सबै परिचय खुलेको छ ।

उनीहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ ।

उपचाररत घाइतेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय छन् ।

मृतकमध्ये चार जनाको शव हेटौँडा अस्पतालमा ल्याइएको छ भने बाँकीको ल्याउने क्रम जारी छ ।