कास्कीमा लगाइएको निषेधाज्ञा हटाउन रास्वपाको माग
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गरेको छ । रास्वपा कास्की जिल्ला सभापति यदुनाथ अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लगेपछि पोखराको शहीद चोक आसपासलगायतका क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।
शहीद चोक आसपासलगायतका क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।
निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन शहीद चोकदेखि लेकसाइडको स्ट्रिट-१ सम्मको सडकमा सवारी आवागमनसमेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेशको मुख्य मार्गमा नै दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरुको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सवसहितका कार्यक्रमहरुलाई समेत मध्यनजर गरी पर्यटन सम्वद्ध संघसंस्थाहरुले निषेधित क्षेत्र हटाउन पहलका लागि यस पार्टीलाई गरेको आग्रह तथा सभापति लामिछानेविरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ६ को निर्णयसमेतका आधारमा कात्तिक ३ देखि जारी गरिएको निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।