गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो कदम कृषक सम्मानतर्फ
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहणसँगै कृषकको सम्मान र हौसलालाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गर्ने ऐतिहासिक निर्णय गरेका छन ।
मन्त्रिपरिषद् पुनर्गठनपछि सपथ ग्रहण गरी मन्त्रालय पुग्नेबित्तिकै मन्त्री कार्कीले प्रदेशका एघारै जिल्लाका विभिन्न क्षेत्रका मेहनती र सफल कृषकहरूलाई सम्मान गर्ने निर्णय गर्दै आफ्नो कार्यकालको सकारात्मक सुरुवात गरेका हुन यो निर्णयले कृषि क्षेत्रमा नयाँ उत्साह र आशा जगाएको छ ।
मन्त्री कार्कीले स्पष्ट रूपमा बताउनुभयो कि गण्डकी प्रदेशको कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउँदै कृषकको आयआर्जन बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहनेछ, अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न प्रभावकारी योजना ल्याइने र सहकारी क्षेत्रलाई थप व्यवस्थित तथा मर्यादित बनाउने दृढ संकल्प व्यक्त गरे ।
“कृषि, भूमि र सहकारी क्षेत्रलाई जनजीविकाको बलियो आधार बनाउँदै प्रदेशको समृद्धि र नागरिकको आर्थिक सशक्तीकरणतर्फ अघि बढ्नेछौं,” मन्त्री कार्कीको भनाइ थियो ।
पदस्थापना कार्यक्रम केवल औपचारिकता नभई कृषक सम्मानको सुखद सुरुवात बनेको उल्लेख गर्दै उहाँले विगतका सफल योजना र नीतिलाई थप सुदृढ बनाउँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
पदस्थापना अघि मन्त्री कार्कीले सहिद चोकमा पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। त्यसपछि पोखरा–७ स्थित पुष्पलाल पार्क र झपिन्द्र पार्कमा पुगी महान् व्यक्तित्वहरूको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेका थिए ।