गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
जन्मभुमि खबर ,
पोखरा ।
एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी एमालेका चार मन्त्रीले बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले राजीनामा दिएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले एमाले सरकारबाट बाहिरिएको र चारै मन्त्रीले राजीनामा दिएको बताए ।
एमालेबाट सरकारमा नेपालीसहित उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी थिए । उनीहरूलाई मुख्यमन्त्री पाण्डेले गत २ वैशाखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जिम्मेवारी दिएका थिए ।
केन्द्रमा एमाले र नेकपाबीच नयाँ राजनीतिक सहकार्य सुरु भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । उक्त राजनीतिक समीकरणअनुसार एमालेले गण्डकी सरकार छाडेको हो ।
एमाले गण्डकी संसदीय बोर्डले मंगलबार नै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट संसदीय दलको बैठकले औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको हो । गण्डकी प्रदेश सभामा राप्रपाको २ र नेसपाको १ सांसद छन् । ६० सदस्यीय संसद् भए पनि मनाङबाट निर्वाचित सांसद दिपक मनाङे उर्फ राजीव गुरुङको पद रिक्त छ ।
अब गण्डकीमा सत्ता चलाउन कम्तीमा ३० सांसदको समर्थन आवश्यक हुन्छ । २७ सांसद भएको कांग्रेस, २ सांसद भएको राप्रपा र १ सांसद भएकाे नेसपा मिल्दा सहजै सरकार बन्न सक्छ । तर, एमालेका मन्त्रीले एक्कासि राजीनामा दिनुमा अर्को समीकरणबारे पनि चर्चा गरिएको छ ।
२२ सांसद रहेको एमाले र सभामुख बाहेक ६ सांसद रहेको नेकपा मिल्दा २८ सिट हुन्छ । यो गठबन्धनलाई पनि बहुमत जुटाउन थप २ सांसद आवश्यक पर्छ । राप्रपा नयाँ गठबन्धनतिर लाग्दा कांग्रेस नेतृत्वको सरकार ढल्छ ।