जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट , गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने माग

जन्मभुमि खबर ,

पोखरा ।

वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

खासगरी गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने माग पाण्डेले अघि सारे । ‘हाम्रो आफ्नै मौलिक प्रविधिबाट बन्ने स्थानीय मदिरालाई कानुनी रूपमा ब्रान्डिङ र व्यावसायिक रूपमा उत्पादन गर्न सके यसले प्रदेशको अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउनेछ । तर, संघ सरकारले केही बाटो खुकुलो बनाइदिनुपर्छ,’ पाण्डेले भने, ‘मैले राखेको प्रस्तावमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ र तत्काल आवश्यक कानुनी सहजीकरणका लागि प्रतिबद्धता जनाउनुभएको छ ।’ यस्तै, गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोजनका लागि खुला गर्ने विषयमा पनि छलफल भएको थियो ।

गाँजा खेती खुला गर्दा हुन सक्ने सम्भावित दुरुपयोगलाई नियन्त्रणमा प्रधानमन्त्रीले बढी चासो देखाएका छन् । प्रदेश सरकारले गाँजा खेतीको पनि ऐन जारी गरिसकेको छ । यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेर सहजीकरणका लागि आग्रह गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

पोखराको फेवातालको सिमांकनसँगै मापदण्ड क्लियर गर्न मुआब्जा वितरण गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बेलिब्रिज निर्माणको अधिकार प्रदेशलाई दिन माग गरिएको छ भने कास्कीको पर्यटकीय गाउँ बीरेठाँटीमा मोदी खोलाको बाढीले गरेको क्षति तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।