जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विजयपुर खोलामा बेपत्ता मध्य एक जना बालकको शव फेला

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ।

शनिबार विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका बालकहरूको थप खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा तीन जना गोताखोरसहित ११ जनाको टोली आवश्यक खोज तथा उद्धार सामग्रीसहित आज घटनास्थलतर्फ खटिएको थियो।

बिहान ११:१५ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल र्‍याप्लिङ/क्लाइम्बिङ रोप रेस्क्यु विधिबाट सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर थापा र सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी करिब ६०–७० मिटर तल खोँचमा गई खोज तथा उद्धार कार्य सुरु गरेका थिए।

खोजीका क्रममा दिउँसो १:५० बजे घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र शव फेला परेको थियो। एक्साभेटरको सहयोगमा दिउँसो २:२६ बजे शवलाई पानीबाट बाहिर निकालिएको हो।

उक्त शव पोखरा महानगरपालिका–१४, छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको रहेको उनका आफन्तले पहिचान गरेका छन् ।

बेपत्ता भएका अर्का बालकको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।