जन्मभुमि खबर ,
पोखरा ।
नयाँ वर्षको अवसरमा पोखरा महानगरपालिकाले परिक्षणका लागि सुरु गरेको सटल बस सेवामा पूर्णविराम लागेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म हवाई यात्रीलाई मुख्य सडकसम्म आवतजावत गराउने उद्देश्यले सञ्चालन गरिएका दुवै विद्युतीय सटल बस असार मसान्तमा सम्झौता सकिएसँगै बन्द भएको हो ।
तीन महिने सम्झौता सकिएपछि दुवै सटल बस काठमाडौं फिर्ता लगिएका छन् ।
बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिएको ति बसमा सयर गर्ने यात्री नभएपछि सम्झौता नवीकरण नगरिएको महानगरपालिकाले जनाएको छ ।
सटल बस सञ्चालन गर्दा लाग्ने सबै खर्च पोखरा महानगर, कृषि विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने सम्झौता भएको थियो । सो परियोजनाका लागि पोखरा महानगरपालिकाले साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । नयाँ वर्षको अवसरमा सञ्चालनमा ल्याउने क्रममै आम नागरिकले असन्तुष्टी जनाएका थिए ।