जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरा–१८, सराङकोटस्थित बाल सुधार गृहबाट फरार भएका बालबन्दी चोरीको प्रयास गरिरहेका बेला पक्राउ परेका छन् । आइतबार बिहान साढे ७ बजेतिर फरार भएका ती बालकलाई राति १ बजेतिर नियन्त्रणमा लिइएको हो ।
पोखरा–६, लेकसाइडको स्ट्रिट नम्बर १९ मा चोरी गर्न लागेका बेला ती बालकलाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । “लेकसाइडमा राति १ बजेतिर चोरी गर्न लागेका बेला नियन्त्रणमा लिएका हौँ,” उनले भने, “यी बालबन्दी कास्कीमै तेस्रो पटक भागेका हुन् ।”
यसअघि कास्कीमा अस्पताल लैजाने क्रममा फरार भएका उनी पक्राउ परेपछि पुनः भागेर इटहरी पुगेका थिए । इटहरीमा पनि म्याद थपका लागि अदालत लैजाने क्रममा उनी अदालत परिसरबाट फरार भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
पाँचथर घर भएका १७ वर्षीय यी बालबन्दीलाई पक्राउ गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।