एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि फेरि थपियो ६ दिन म्याद
जन्मभुमि खबर ,
पोखरा ।
नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । बिहीबार (असार १८) विशेष अदालतले तेस्रोपटक म्याद थपेको हो ।
विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।
“सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज (बिहीबार) तेस्रोपटक ६ (छ) दिन म्याद थप भएको छ,” अदालतको सूचनामा उल्लेख छ ।
पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो ।