जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मन्त्री कुलमान घिसिङले बुझाए राजीनामा

उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।

आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।

रास्वपाको उपसभापति बन्ने चर्चापछि बढेको आलोचनाबीच उनले यो निर्णय लिएका हुन् ।

उनले प्रधानमन्त्री कार्कीलाई बुझाएको राजीनामापत्रमा भविष्यमा जुनसुकै जिम्मेवारी वहन गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनपछि कार्कीको नेतृत्वमा बनेको गैरदलीय चुनावी सरकारमा घिसिङले तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी एकसाथ सम्हाल्दै आएका थिए उनले।

फागुन २१ गतेको चुनाव नजिकिँदै जाँदा घिसिङ आफैँले स्थापना गरेको उज्यालो नेपाल पार्टीलाई एकीकरण गरेर रास्वपामा लाग्दै दलीय गतिविधिमा संलग्न रहँदै आएका थिए।

गैरदलीय चुनावी सरकारको मन्त्री भएर दलगत गतिविधिमा लागेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

मंगलबार मात्रै आफू कुनै पनि पार्टीको सदस्य नभएको हास्यास्पद अभिव्यक्ति दिएका घिसिङलाई प्रधानमन्त्री कार्कीले बर्खास्त गर्ने चेतावनी दिएपछि अहिले राति हतारहतार राजीनामा दिएका हुन्।

उनीसँगै प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन निर्देशन दिएकी छिन्। खरेल र गुप्ता पनि रास्वपा निकट देखिएका छन्।