जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको ऋषिङ गाउँपालिका १ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ ।
प्रहरीका अनुसार व्यास नगरपालिका ५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो ।
कालिका कन्स्ट्रक्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६ ००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मंगलबार दिउँसो दमौलीस्थित रत्नहरि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।
उपचारका क्रममा थापाको गए राति मृत्यु भएको हो
टिपर चालक चितवनको राप्ती नगरपालिका २ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका ८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताए ।
मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।