जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।
उक्त फैसलाको पूर्णपाठ आज सार्वजनिक गरिएको हो ।
सर्वोच्च अदालतबाट मिति २०८१ / ७ / २० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।
संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।
यसैगरी अब मनाङ प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतले सो निर्वाचन क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशसभा मनाङेलाइ पदमुक्त हुने भनि यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै उपनिर्वाचन हुने बाटो खुला भएको हो ।
निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन। आयोगले पूर्णपाठ आएपछि अध्ययन गरेर रुपन्देही –३ सँगै उपनिर्वाचन गर्ने कि के गर्ने भननेबारे निर्णय लिने बताउँदै आएको छ ।
यसैबिच सोमबार पूर्णपाठ सार्वजनिक भएसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब पूर्णपाठ अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए ।