जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बडादशैँको आठौं दिनः आज महागौरीको पूजा आराधना गरिँदै

जन्मभुमि खबर ,

पोखरा ।

शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । दुर्गा पूजा अन्तर्गत आठौँ स्वरूप महागौरीको पूजाको विशेष विधिविधान रहेको छ । अमोघ शक्ति भएकी यी देवीको भक्ति तथा उपासना गर्नाले भक्तजनहरूको पूर्वसञ्चित पापहरूसहित भविष्यका पाप–सन्ताप नष्ट भई सबै दोष नाश हुने र पछिसम्म कुनै बाधाअड्चन नआउने प्रत्यक्ष फलदायी शास्त्रीय मान्यता रहेको छ ।

सेतो वर्ण तथा सेतो पहिरन र गहना धारण गरेकी, वृष ९साँढे० वाहन भएकी यी देवीका चार हात रहेका छन् । देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा र तल्लो दाहिने हातमा त्रिशूल छ भने बायाँतर्फको माथिल्लो हातमा डमरु र तल्लो हातमा वरमुद्रा रहेका छन् । अत्यन्त शान्त मुद्रामा देखिने यी माताको स्वरूप गोरो वर्णको छ ।

शिव पुराणका अनुसार मातालाई आठ वर्षको उमेरमै पूर्वजन्मको आभास भएपछि सोही उमेरदेखि श्रीमहादेवलाई पतिको रूपमा पाउन कठोर तपस्या सुरु गरेकी थिइन् । बाल्यकालमा पार्वती हुँदादेखि नै ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै रहन्छु’ भन्ने दृढ प्रतिज्ञाका साथ उनले कठोर तपस्या गरेकी थिइन् ।
सोही तपस्याका कारण उनको शरीर कालो हुन पुगेको थियो। पछि उनको तपस्याबाट खुसी भएका शिवजीले गंगाजलले नुहाइदिएपछि उनी गोरी भइन् र उनको नाम ‘महागौरी’ रहन गएको पौराणिक प्रसङ्ग छ । यस्तै मोक्ष प्राप्तिको चाहना गरिने हुनाले देवमन्दिर तथा यज्ञ–यज्ञादिमा विधिपूर्वक बलि दिँदा ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने शास्त्रीय वर्णन समेत पाइन्छ ।
महागौरीको पूजाआजाका लागि बिहान ब्रह्ममुहूर्तमा उठी स्नानआदि नित्यकर्म सकेर आवश्यक सामग्री जुटाउने गरिन्छ। पूजाका लागि गणेश भगवान् र नवदुर्गाको मूर्ति वा तस्बिर, कलश, कलश राख्ने थाली वा आसन, रातो कपडा, परम्परा अनुसारको ध्वजा वा पूजा कपडा आवश्यक पर्दछ। यसका साथै नरिवल, पञ्चपल्लव, शुद्ध जल, जौ, माटो वा बालुवा, चामल, सुपारी, सिक्का, पञ्चरत्न, फूल, दूबो, चन्दन, अबिर, सिन्दूर, धूप, दियो, घिउ, तेल, कपुर, रक्षासूत्र, अर्घपात्र, पूजा थाली, आसन तथा नैवेद्यका लागि केरा, स्याउलगायत फलफूल, मिठाई, दूध, दही, मह, चिनी वा सख्खर र प्रसाद तयार पारेर देवीको आराधना गर्ने प्रचलन रहेको छ ।
  • पूजा विधि

सबै सामाग्री तयार पारिसकेपछि दियो बाल्नु पर्दछ दियो बाल्दा
ॐ दीपज्योतिः परंब्रह्म
दीपज्योतिर्जनार्दनः ।
दीपो हरतु मे पापं
दीपज्योतिर्नमोऽस्तु ते ।।

यो मन्त्रको उच्चारण गर्नुपर्दछ ।

दियोमा फूल अक्षता चढाउदै
ओम दीपदेवताय नम
त्यसपछि गन्ध, अक्षता, फूल, धूप र नैवेद्य अर्पण गर्नुपर्दछ ।
शुभं करोतु कल्याणम्
आरोग्य धनसम्पदा ।
शत्रुबुद्धिविनाशाय
दीपज्योतिर्नमोस्तुते ।
भनी ध्यान गर्नुपर्दछ ।

गणेश पूजा मन्त्र
गणेशजीको पूजा आरम्भमा सबैभन्दा प्रचलित मन्त्र—
ॐ गं गणपतये नमः
गणेशजीलाई आवाहन तथा पूजा गर्दा:
ॐ श्री गणेशाय नमः
आवाहयामि, स्थापयामि, पूजयामि नमः ।।
भनेर  चन्दन, अक्षता, फूल, दुवो, सिन्दूर,रातो कपडा, धूप, दीप, नैवेद्य, फलफूल,लड्डु दक्षिण आदि अर्पण गरी  ।
वक्रतुण्ड महाकाय
सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव
शुभकार्येषु सर्वदा ।। भनी
गणेशजीको ध्यान मन्त्र जप्नुपर्दछ ।

कलशको पूजा गर्नुपर्दछ 

कलशको मुखमा वा पञ्चपल्लवको माथि रातो कपडाले बेरेर एउटा नरिवल राख्नुपर्दछ । पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिँगोफल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।
ॐ कलशाय नमः भनी
कलशमा जल, अक्षता, फूल आदि राखेर
ॐ कलशस्य मुखे विष्णुः
कण्ठे रुद्रः समाश्रितः ।
मूले तत्र स्थितो ब्रह्मा
मध्ये मातृगणाः स्मृताः ।।
कुक्षौ तु सागराः सर्वे
सप्तद्वीपा वसुन्धरा ।
ऋग्वेदोऽथ यजुर्वेदः
सामवेदो ह् अथर्वणः ।।
आज आठौ दिन भएकोले माता माहागौरीको पूजा गरिन्छ । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यो एक अत्यन्त शक्तिशाली दुर्गा मन्त्र हो । यो मन्त्रलाई १०८, १००८ वा लाखौपटक जपेर सिद्ध गर्न सकिन्छ । नवरात्रमा यो मन्त्रको प्रयोग वा उच्चारण गर्ने र चण्डीपाठ गर्नाले आन्तरिक शक्ति, आत्मबल र साहस जागृत हुन्छ ।

आजको दिन विभिन्न शक्तिपिठहरुका बलि पनि दिइन्छ  । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक जल,चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिन्छ । पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ । तामस पूजामा मदिरा चढाएर पूजा गरिन्छ भने पशु बलि पनि दिइन्छ ।

आज आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषपुरमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली,नक्साल भगवती,शोभा भगवती, विजेश्वरी, इन्द्रायणी,रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही,दक्षिणकाली,चामुण्डा,सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गरिन्छ भने उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी,डढेलधुराको उग्रतारा,काभे्रपलाञ्चोकको चण्डेश्वरी,नाला भगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती,दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलि सहित पूजा तथा आराधना गरिन्छ । पशु बलि नचढाउनेहरूले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो,मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् ।

माहागौरी मंत्रः
ॐ  देवी महागौर्यै नमः।।

माहागौरी प्रार्थनाः
श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।

महागौरी स्त्रोत पाठ :
सर्वसंकट हंत्री त्वंहि धन ऐश्वर्य प्रदायनीम् ।
ज्ञानदा चतुर्वेदमयी महागौरी प्रणमाभ्यहम् ।।

सुख शान्तिदात्री धन धान्य प्रदीयनीम् ।
डमरूवाद्य प्रिया अद्या महागौरी प्रणमाभ्यहम् ।।
त्रैलोक्यमंगल त्वंहि तापत्रय हारिणीम् ।
वददं चैतन्यमयी महागौरी प्रणमाम्यहम् ।।

माहागौरीको ध्यान मन्त्र :
वन्दे वांछित कामार्थे चन्द्रार्घकृत शेखराम् ।
सिंहरुढा चतुर्भुजा माहागौरी यशस्वनीम् ।