नाचगानमा पेस्तोल पड्काउने जनता समाजवादी पार्टीकी नेता डा.बबी सिंह यादवमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवमाथि अनुसन्धान सुरु गरेको हो।
सप्तरीका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यादवलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको र घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए।
उहाँलाई घटनाको बारेमा सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा बोलाइसकेका छौँ। उहाँ आउँदै हुनुहुन्छ। घटनाको अनुसन्धान सुरु भइसकेको छ’, एसपी शर्माले भने।
यादवले एउटा पारिवारीक पार्टीमा नाचगान गर्दा हातमा पेस्तोल नचाउँछिन् र केही बेरमा पेस्तोल पड्काएको भिडिओमा देखिन्छ। तर उक्त पेस्तोल कस्तो हो भन्ने खुलेको छैन।
कोठा भित्रको नाचगानमा उनीसँगै केही महिला र पुरुषहरु नाचिरहेको देखिन्छ।
यादवले स्पष्टीकरण दिएकी छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नेत्री यादवले बिहीबार सामाजिक सञ्जालमार्फत वैवाहिक कार्यक्रममा खेलौनाले गरेको फायरलाई लिएर भ्रम फैलाइएको दाबी गरेकी छन् ।
“वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरूको मात्रै हो ? महिलाले एकछिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु,” यादवले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
उनका अनुसार, भाइरल भिडियो भारतको सीमावर्ती सहर सीतामढीमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बेला गरिएको मनोरञ्जनको हो ।
“मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आगनमा आफ्ना भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु,” यादवले भनेकी छन् ।
नेत्री यादवले रमाइलो गर्दा खिचिएको भिडियोलाई सन्दर्भ र अनुमतिबिनै सामाजिक सञ्जालमा प्रस्तुत गरिएकोप्रति आपत्ति पनि जनाएकी छन् ।