जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपकुलपति बरालको राजीनामा स्वीकृत , अब सबै कुरा पत्रकार सम्मेलन गरेर खुलाउने प्रतिक्रिया

 

जन्मभुमि खबर ,

पोखरा ।

त्रिभुवन विश्वविद्यालय (टियु)का उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

चैत १५ गते राजीनामा बुझाएका बरालको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो ।

बरालले राजीनामा दिनुको कारणबारे पत्रकार सम्मेलन गरेर सबै खुलाउने बताएका छन् । राजीनामा स्वीकृत भएपछि प्रतिक्रिया दिँदै बरालले आफ्नो राजीनामालाई लिएर विभिन्न टिकाटिप्पणी भएकाले पत्रकार सम्मेलन गरेर सबै खुलस्त पार्ने बताएका हुन् ।

‘राजीनामा स्वीकृत भएछ । विभिन्न कोणबाट मेरो राजीनामालाई लिएर टिप्पणी भइरहेको छ । अब अनलाइनबाटै पत्रकार सम्मेलन गरेर सबै खुलाउँछु,’ बरालले भने । बरालको राजीनामाको कारण स्वास्थ्य कि राजनीतिक दबाब भन्नेमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन्, जसबारे अहिलेसम्म बरालले स्पष्ट पारेका थिएनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन १० गते बराललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा नियुक्त गरेका थिए ।