जन्मभुमि खबर ,
पोखरा ।
स्याङजामा आठजना सवार स्कार्पिओ गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मंगलबार बिहान वालिङ नगरपालिका-१४ तमादीस्थित वालिङ(पर्वत कच्ची सडक खण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग.१ च. ८९१३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।
गाडी सडकबाट करिब ४ मिटर तल खरेर दुर्घटनामा परेको हो। घाइते पाँचजनाको प्राथामिक स्वाथ्य्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार तीनजना भने सकुसल छन् । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटनामा घाइते हुनेमा स्याङ्जाको वालिङ-१४ घर भएका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका ५२ वर्षीय भिमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वतको पैयुँ गाउँपालिका- ६ हुवासकी ३३ वर्षीया कुमाकला तिवारी र उनका छोरा ११ वर्षीय कमल तिवारी छन्। उनीहरु सबै खतरामुक्त रहेका प्रहरीको भनाई छ ।