- जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको चिकित्सकहरूले जनाएका छन् ।
अर्थमन्त्री पौडेलको तुलनामा मेयर आचार्यलाई बढी जलन भएको हो कि भन्ने जिज्ञासमा प्रवक्ता ताम्राकारले दुवै जनालाई ५–६ प्रतिशत जलन भएको बताइन् ।
‘जलनको पहिलो दिन नै कति असर पुर्यायो भन्ने थाहा हुँदैन । पछि बढ्ने पनि हुनसक्छ। अहिले दुवै जनाको ५ देखि ६ प्रतिशत जलन भएको देखिएको छ। संक्रमण भयो भने घाउ अझ बढ्नसक्छ,’ ताम्राकारले भनिन् ।
मेडिकल टिमले घाउको अवस्था पनि सुधारोन्मुख रहेको बताएको ताम्राकारले जानकारी दिइन् । अस्पतालले दुवै जनालाई थप २४ घन्टा आइसियूमै राखेर निगरानी गर्नुपर्ने बताएको छ ।
उपचारमा प्रा. डा. प्रवीण गिरी लगायत सघन उपचार कक्षको टोली संलग्न छ । यस्तै, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायत जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा संलग्न छ ।
