जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा हाइड्रोजन भरिएको बेलुन बिस्फोट हुँदा घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र मेयर धनराज आचार्य अस्पताल भर्ना भएका छन् ।
किर्तिपुरस्थित जलन अस्पतालका अनुसार भर्खरै दुवैजनाकाे अस्पतालको इमरजेन्सीमा उपचार सुरु गरिएको छ । पोखराबाट उडेको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण गरिएपछि घाइते दुवै जनालाई किर्तिपुर अस्पताल लगिएको हो ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ल्याउने भनिएपछि इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मी तयारी अवस्थामा थिए । अस्पतालले बिदामा रहेका कर्मचारीलाई पनि कार्यालय बोलाएको थियो ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगो लागेर बिस्फोट भएको थियो । पोखरामा सामान्य उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट घाइते दुवैजनालाई काठमाडौँ पठाइएको र अस्पताल भर्ना गरिएको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले जानकारी दिए ।
केसीकाअनुसार अर्थमन्त्री पौडेलको हात र अनुहारमा आगोले भेटेको छ । मेयर आचार्यको पनि अनुहार र कपाल आगोले जलेको छ ।