जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङ छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको बताइन्छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय आसपासमा सो दुर्घटना भएको हो ।
सिर्जनाचोबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छाेरा मनोजले चलाएका थिए ।
सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।