जन्मभुमि खबर ,
पोखरा ।
पाथीभरामा केबुलकार निर्माण विषयलाई लिएर विवाद भइरहेको ताप्लेजुङमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको एक टोली पुगेपछि बिहीबार झडप भएको छ । महतो काठमाडौंबाट केबुलकार निर्माणको विरोध गर्न टोलीको नेतृत्व गर्दै ताप्लेजुङ पुगेका थिए ।
झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । महतो, रकम चेमजोङ र डकेन्द्र थेगिमले नेतृत्व गरेको टोलीले केबुलकार निर्माणस्थलमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेको जनाइएको छ ।
प्रजिअ शर्माले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको जानकारी दिए । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको थियो ।
शर्माका अनुसार निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थिए। त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेपछि झडप भएको उनको भनाइ छ ।
आक्रमणबाट नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्दै राष्ट्रिय मुक्ति पार्टीले यस्तो कार्यक्रम गरेको हो । यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।