जन्मभुमि खबर ,
पोखरा ।
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।
यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो ।
सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।
आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।