जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विपिनको रिहाइबारे इजरायली अधिकारीले नेपाली राजदूतलाई भने– तयारी अवस्थामा रहनु

जन्मभुमि खबर ,

पोखरा ।

इजरायली अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जुनसुकै बेला रिहा हुन सक्ने भएकाले तयारी हालतमा रहन खबर पठाएका छन् । तर, उनको रिहाइ कहिले हुने भन्नेबारेमा नयाँ जानकारी भने प्राप्त हुन नसकेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।

‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू भन्ने खबर आएको छ । त्यसबाहेक नयाँ कुरा केही भनिएको छैन,’ राजदूत पण्डितले भने ।

राजदूत पण्डितका अनुसार बुधबार राति उनले इजरायली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए । त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीबार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए ।

त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ । आज विपिन जोशी छुटेनन् भने शनिबार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,’ पण्डितले बिहीबार दिउँसो बीबीसीसँग भनेका छन् ।

‘बुधबार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ । उहाँले अहिलेसम्म हामीसँग कुनै पनि अपडेट छैन भन्नुभयो । त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन,’ पण्डितले अगाडि भने ।