जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।

गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४:३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भने, ‘रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।’

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।