पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर (तस्बिर सहित)
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।
२०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो।
तत्कालीन मेयर मानबहादुर जिसीकै कार्यकालमा त्यसलाई भत्काउने निर्णय भइसकेको महानगरपालिकाले जनाएको छ।
हालका मेयर धनराज आचार्यसहितको टोलीले बिहीबार बिहान महेन्द्रपुल पुगेर उक्त संरचना हटाएको हो।
पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने निर्णय गरेको थियो।
फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अन्यत्र छैनन् । त्यसैले पोखरामा हुने साना र ठूला प्रदर्शनी त्यहीं हुन्थे ।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ। तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी रहेको महानगरको भनाई छ।


