आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को सम्पर्कमा आएका लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका हुन्।
क्यारेबियन लिग खेल्न हाल सेन्ट लुइसमा रहेका लामिछानेले आफू निर्दोष रहेको र कानुनी उपचारमा सहजीकरण गर्न क्यानसँग अनुरोध गरेको क्यानका कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।
म्याच सकिएपछि नेपाल फर्किने भन्दै लामिछानेले कानुनी सहयोगका लागि क्यानसँग अनुरोध गरेका हुन्। एक १७ वर्षीया किशोरीले आफूमाथि लामिछानेले बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्।
सन्दीपले ती किशोरीलाई भदौ ५ गते काठमाडौंबाट नगरकोट पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी छन्। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।