जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

जन्मभुमि खबर ,
पोखरा ।

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

बिहीबार पेश गरेको रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए । रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको उनले बताए ।

कात्तिक २२ देखि २६ गतेसम्म तिहार बिदा रहेको छ । कात्तिक २७ गते एक दिन मात्रै कार्यालय खुल्छन् । त्यसपछि दुई दिने साप्ताहिक बिदाका कारण कात्तिक २८ र २९ गते सरकारी कार्यालय बन्द रहन्छन् ।

बुधबार सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाएको छ । आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको माग गरेर रिट दिएका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकमा बढुवा गरिएका मनोज केसीलाई विपक्षी बनाइएको छ ।

आईजीपीलाई अर्को पदमा नियुक्त गरेको बहानामा हटाउने निर्णय वस्तुनिष्ठ, आधारविहीन र बदनियतपूर्ण रहेको निवेदनमा दाबी गरिएको छ ।

 

। कार्कीले सरकारको उक्त निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पूर्ववत् कायम राख्न माग गरेका छन् ।

कार्कीलाई २०८२ कात्तिक २७ गते महानिरीक्षक पदमा बढुवा गरिएको थियो। तर एक वर्ष नपुग्दै हटाइएको हो ।

उनलाई हटाइएकै दिन केसीलाई महानिरीक्षक नियुक्त गरिएको थियो । त्यसै दिनबाट केसीले महानिरीक्षकको कार्यभार सम्हालिसकेका छन् ।