जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ ।

महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको जानकारी दिए ।

आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि, वडा नं ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्रीवितरण स्थलका रुपमा तोकिएको हो ।

यसैगरी, पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं वडाको पोखरा रङ्गशाला, वडा नं १३ को किसान बजार, वडा नं १४ को कार्यालय परिसर, वडा नं १५ को किसान बजार, वडा नं १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि र वडा नंं २७ तालचोकको कृषिउपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।

सरोकार भएका पक्षको समन्वयमा बिक्रीस्थल र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताए । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि महानगरले तिहारमा प्लाष्टिकजन्य फूलको माला बिक्रीवितरण नगर्न सम्बन्धित व्यवसायीमा आग्रहसमेत गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् ।