जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा राती १० बजेपछि देउसीभैलो खेल्न नपाइने , घरधनीलाई सोधेर मात्रै खेल्न पर्ने

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने गरी प्रशासनले नियम बनाएको छ । पर्वलाई मर्यादित, अनुशासित, सभ्य र सुरक्षित बनाउने उद्देश्यले १० बजेपछि देउसीभैलो कार्यक्रम रोक्न प्रशासनले सूचना जारी गरेको हो।

देउसीभैलोका नाममा मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै शान्ति सुरक्षामा खलल नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले आग्रह गरे ।

देउसीभैलो खेल्दा डिजे र चर्को आवाजमा रोक लगाइएको छ । ध्वनि प्रदूषण हुने गरी डिजे, अत्यधिक ठुलो आवाजमा माइक, लाउडस्पिकर तथा बाजा बजाउन पूर्ण रूपमा रोक लगाइएको घर्तीले बताए ।
देउसीभैलोका नाममा सर्वसाधारण, व्यवसायी वा घरधनीसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने प्रशासनले जनाएको छ । कुनै पनि घर, निजी आवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेछ ।
देउसीभैलोमा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गरेर कार्यक्रम सञ्चालन गर्न, होहल्ला गर्न, झगडा गर्न तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउन पाइने छैन भने पटका तथा आतिसबाजीमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सडक, चोक, गल्ली तथा फुटपाथमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न घर्तीले आग्रह गरे ।
अस्पताल, स्वास्थ्य संस्था, विद्यालय तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रहरूमा सर्वसाधारणलाई बाधा नपुग्ने गरी सावधानी अपनाउनुपर्नेछ भने बालबालिका सहभागी गराउँदा अभिभावकको प्रत्यक्ष निगरानीमा राख्नुपर्नेछ ।
कुनै पनि जातजाति, धर्म, भाषा वा समुदायमा घृणा, द्वेष तथा अपमान फैलिने प्रकृतिका गीत, नारा वा गतिविधि गर्न निषेध गरिएको छ । प्रशासनले देउसीभैलो सञ्चालन गर्दा स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्न आग्रह गरेको छ ।