जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फिर्केखोलाका अतिक्रमित संरचना हटाउन अन्तिमपल्ट सात दिनको म्याद

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित संरचना हटाउन  सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको अन्तिम म्याद दिएको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै अँधेरीकुना देखि फेवातालसम्म बग्ने करिब आठ किलोमिटर ‍ क्षेत्रमा निर्माण भएका सबै संरचना हटाउन भनेको हो।  आफैँ संरचना हटाउने प्रतिबद्धता जनाएका केही व्यक्ति तथा संस्थाका संरचना भने अझै बाँकी छन् ।

यसअघि प्रकाशित सूचना बमोजिम हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थालाई ७ दिनभित्र अनिवार्य रूपमा संरचना हटाउन महानगरपालिकाले अन्तिम पटक सूचना जारी गरेको उल्लेख छ । तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम आफैँ संरचना हटाउने महानगरले बताएको छ । संरचना हटाउँदा लागेको  सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने जनाएको छ ।

खोलाको बहाव क्षेत्रमा रहेका १ सय ६० वटा संरचनामध्ये अझै ५८ वटा संरचना पूर्ण रूपमा भत्काउन बाँकी रहेका छन् । तीमध्ये २९ वटा संरचना घरधनी आफैँले भत्काउन सुरु गरेका छन् भने २२ वटामा कुनै काम भएको छैन । फिर्केखोलाका संरचना हटाएर करिडोर बनाउने योजना महानगरको छ ।