जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका निकायबाट सञ्चालित अपरेसन ३६५ अन्तर्गत पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बुधबार रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
सवारी साधन नियन्त्रणमा लिने क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क र हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार कास्की प्रहरीले सञ्चालन गरिरहेको अभियानअन्तर्गत हालसम्म ७४० वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ।