जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा महिलाको हत्यामा संलग्न थप ३ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ८ को सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी सृजना पौडेल केसीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि नै २ जना मुख्य प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिसकेकोमा अनुसन्धान र बयानका आधारमा अरु ३ जनालाई नियन्त्रणमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिर्जनाका भान्जा पर्वत कुश्मा नगरपालिका–११ घर भई पोखरा महानगरपालिका–५ जिरो किलो बस्ने वर्ष २४ का वसन्त केसी र छोरीज्वाइँ पर्वत फलेवास नगरपालिका–९ भंगारा घर भई पोखरा–१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री छन् । वसन्त शिशिरका आफ्नै भाइ हुन् ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि बाटोमा हिँडिरहेको अवस्थामा सृजनाको हत्या गर्ने कार्यमा संलग्न पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो ।

चैत २५ गते बेलुका पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै रहेको शिवालय चोकमा उक्त घटना भएको थियो ।

पृथ्वीचोकदेखि सृजनाचोक जाने सडक खण्डमा पोखरा महानगरपालिका वडा नम्बर १८ सेदी बस्ने ४२ वर्षीया सृजना पौडेल केसीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।