जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

जन्मभुमि खबर ,

पोखरा ।

‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा फेवाताल किनार बाराही घाटमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् । उनका अनुसार दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्दै ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ पहिलोपटक गर्न लागिएको हो ।

महोत्सव अघि बिहान खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन र्‍यालीको आयोजना गरिएको छ । र्‍यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।
“दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव गर्न लागेका हौँ । महोत्सवका सबै तयारी सकिएको छ”, संयोजक भण्डारीले भनिन् ।
महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । महोत्सवमा लोप हुन लागेको कबड्डी खेल, स्वदेशी तथा विदेशी पर्यटक दौड, मालश्री धुनलगायत साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली मौलिक खानाका परिकार, कलासंस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधि पनि महोत्सवमा समेटिने भण्डारीले बताइन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताए ।

“दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देशविदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यसबाट विदेशीलेसमेत हाम्रो संस्कृतिको अनुभव गर्न पाउनेछन्”, भुजेलले भने ।

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर महोत्सवमा मिल्ने बताए ।

ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पुर्‍याउन महोत्सव सफल हुने बताए । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ”, उनले भने ।

महोत्सवमार्फत नेपाली मौलिकता अन्तर्राष्ट्रिय पर्यटकमाझ पुर्‍याउन सकिने भन्दै उहाँले सबै पर्यटनसम्बद्ध संस्था, व्यवसायी, सञ्चार जगत् र सम्पूर्णको साथ आवश्यक रहेको बताए ।