जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नाबालिकालाई बलात्कार प्रयास गर्नेलाई २५ पटक उठबस र ढोग गराएर छाडियो

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा नाबालिका बलात्कार प्रयास जस्तो जघन्य को घटना वडा कार्यालयमा जनप्रतिनिधिकै रोहबरमा मिलापत्र गरेको पाइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर– २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङसहित जनप्रतिनिधि र टोल विकास समितिको रोहबरमा मिलापत्र गरेको एक जनप्रतिनिधिले बताए ।

ती प्रतिनिधिका अनुसार स्थानीय ३० वर्षीय युवकले गत बुधबार राति एक नाबालिकाको कोठामा छिरेर उनीमाथि बलात्कार प्रयास गरेका थिए। नाबालिका चिच्याएपछि युवक भागेका थिए ।

घटना भएपछि पीडित परिवार टोल विकास संस्थामा गएका थिए भने उनीहरुले वडाध्यक्ष गुरुङको घरमा समेत पुगेका थिए ।

वडाध्यक्ष गुरुङसहित जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारी मिलेर घटनाको मिलापत्र गरेका हुन्। वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित हुन्।

मिलापत्र गर्दा बलात्कार प्रयास गरेका युवकलाई नाबालिकाको खुट्टामा ढोग्न लगाइएको र २५ पटक उठबस गराइएको थियो ।

‘अब आइन्दा त्यस्तो नगर्ने शर्तमा मिलापत्र गराइएको रहेछ,’ सोही वडाका एक जनप्रतिनिधिले भने ।

उक्त घटना फौजदारी अभियोग हुने र वडामा मिलापत्र गर्न नमिल्ने बताए पनि वडाध्यक्ष र टोल विकास समितिले मिलापत्र गराएको ती जनप्रतिनिधिले बताए ।

दलित समुदायका नाबालिकाको कोठामा जाँदा युवक मदिराले मातेको अवस्थामा रहेको पनि स्थानीयले बताएका छन् ।

नाबालिका बलात्कार प्रयासको उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।

‘बलात्कारका घटनामा मिलापत्र गर्न मिल्दैन,’ उनले भने, ‘यसबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

घटना असोज १ गते बिहान २ बजेको हो । रातभर रक्सी गाँजा खाएर बसेका भण्डारी नाबालिका सुतेका कोठामा पुगेका थिए । उनीहरुको घर एकै ठाउँमा, आगन नै जोडिएका छ । रक्सीले मातेका भण्डारी नाबालिकाको सुतेका कोठामा पुगेर झुल खोलेपछि नाबालिका चिच्चाएकी थिइन् । त्यसपछि असोज १ गते टोल विकास समिति (आमा समूहका) बैठक बसेर माफी दिएका थिए ।