जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निशेधाज्ञा जारी गरेकाे छ ।
अहिलेको प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले पोखरा महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएकाे आदेशमा भनिएकाे छ ।
भदौ २४ गते मंगलबार बिहान ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि जारी आदेशअनुसार पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
आदेश उल्लङ्घन गर्ने वा यसको कार्यान्वयनमा अवरोध गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।
निषेधाज्ञा जारी भएका क्षेत्र
शहीदचोक आसपास
पूर्व : वाईचोक (उत्तर–पूर्वतर्फ मिलनचोक)
पश्चिम : फिस्टेल गेट (वैदाम)
उत्तर : मालपोत कार्यालय, कास्की
दक्षिण : राष्ट्रबैंक चोक (पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड)
गण्डकी प्रदेशसभा आसपास
उत्तर : भिमकाली पाटन बगर
दक्षिण : अधिकारी टोल
पूर्व : नदीपुर हाइवे
पश्चिम : बागबजार ट्याक्सीचोक
सिडिओ शर्माले आदेश जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न तथा कुनै पनि अवाञ्छित घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको स्पष्ट गरेकी छन्।
