जन्मभुमि खबर ,
पोखरा
लमजुङबाट पोखरा आउदै गरेको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिकामा शुक्रबार बिहान ब्रेक फेल भई दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ८२ वर्षीया एक वृद्धाको अवस्था गम्भीर रहेको छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, रुपा गाउँपालिका-१, पार्चेस्थित सडकखण्डमा ग १ ख ४१०१ नम्बरको बस बिहान अन्दाजी ११:१५ बजे दुर्घटनामा परेको हो।
बसको ब्रेकमा समस्या आएपछि अनियन्त्रित भई सडकमा पल्टिएको थियो। घाइते सम्पूर्णलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार, घाइतेमध्ये लमजुङ, मध्यनेपाल नगरपालिका-७, रामबजार निवासी ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर छ। उनको दायाँ हात भाँचिनुका साथै दुवै खुट्टामा चोट लागेको छ।
सोही स्थानकी ६२ वर्षीया राधिका घिमिरे र ३७ वर्षीया शान्ति केसीको अवस्था सामान्य रहेको छ।
अन्य घाइतेहरू, सोही ठेगानाका ५९ वर्षीया शोमा थापा, ५४ वर्षीया लक्ष्मीकुमारी गुरुङ, ४५ वर्षीया सरस्वती केसी, ८३ वर्षीया जमुनादेवी घिमिरे, ४२ वर्षीया सरिता घिमिरे, ५६ वर्षीया सावित्रा घिमिरे, ४२ वर्षीया रिता घिमिरे, ४१ वर्षीया पार्वती घिमिरे, ४८ वर्षीया सिजा थापा, ७५ वर्षीय चन्द्रबहादुर केसी, ७१ वर्षीय नेत्रबहादुर केसी, ३० वर्षीया लीला केसी, ६३ वर्षीय हरिकृष्ण घिमिरे, ४८ वर्षीया कमलादेवी घिमिरे र ५५ वर्षीया मैया कुँवर छन्।
उनीहरूको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांश घाइतेहरू मध्येनेपाल नगरपालिका-७, रामबजारकै बासिन्दा हुन्।
दुर्घटनाग्रस्त बसका चालक लमजुङ, मध्यनेपाल नगरपालिका-७, रामबजारका ३४ वर्षीय सन्तोष लामालाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
बसका सहचालक तनहुँ, व्यास नगरपालिका-९ का १६ वर्षीय सन्देश गैरे सामान्य घाइते भएकाले अस्पताल भर्ना भएका छैनन्।
प्रहरीका अनुसार, दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ र उक्त सडकखण्डमा साना सवारी साधन सञ्चालनमा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।