जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा खानेपानी ड्याममा डुबेर २ बालकको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा आउने खानेपानीको ड्याममा डुबेर २ बालकको मृत्यु भएको छ । पोखरा २५ स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरू मृत भेटिएका हुन् ।

दुवै जनाको शव बिहीबार दिउँसो सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । ज्यान गुमाउनेमा माछापुच्छ्रे गाउँपालिका–६ धिताल अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार छन् ।

विशालले खोलाले बगाएका दुई साथीमध्ये अर्का साथीलाई निकालेर बचाएको तर आफू भने डुब्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । अस्तामका ६ जना गाउँका साथीहरू बिदाको दिनमा बल खेल्ने भन्दै तीन किमि पर पुगेका थिए । सोहि क्रममा गर्मी भयो भन्दै उनीहरू खोलामा पुगेको मृतक बालकका साथीहरूले बताएका छन् ।

बिहीबार गणतन्त्र दिवस भएकाले सार्वजनिक बिदा हुँदा विद्यालय छुट्टी थियो । उनीहरू कक्षा ८ मा अध्ययनरत थिए ।

उनीहरू दिउँसो पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर नम्बर–२४ कालिका गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले २० फिट गहिराइबाट शव निकालेको हो ।