जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि स्थानीय एक पुरुषले रड हान्ने प्रयास गरेका छन् ।
सार्वजनिक जग्गामा बनाउदै गरेको संरचना रोक्न गएका बेला पोखरा-२१ बाझिपोखरीका भुपेन्द्र गिरिले रड प्रहार गरेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । ‘सार्वजनिक जग्गामा संरचना नबनाउन हामिले धेरैपटक आग्रह गरियो। तर, रातारात संरचना बनाउने काम भयो । त्यसलाई रोक्न नगरप्रहरीसहित त्यहा पुगेका थियौं । कुरा गर्ने क्रममा उहाँले रड प्रहार गर्नुभयो,’ उनले भने ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए । ‘यस्ता आउनुस् भनेर कुनातिर बोलाउनुभयो । म त केही आग्रह गर्न होला भनेर गएँ । उहाँले रड लिएर आउनुभयो । मतिर पहार गर्दा मेरो हातले समातेर रोकेँ । छेउमा अर्को साथी पनि हुनुहुन्थ्यो । उहाँले पनि रोक्नुभयो,’ उनले भने, ‘चोट लाग्न पाएन । टाउकोमा लागेको भए जे पनि हुन सक्थ्यो ।’
यो विषय छलफल गर्न वडा समिती र सर्वपक्षीय बैठक डाकिएको सुबेदीले बताए ।