जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखराकाे फाेहाेर भोलिबाट उठाइने, लामेआहालमा १५ दिनको लागि मात्र व्यवस्थापन गर्ने सहमति

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सडकभरि छरपस्ट रहेको फोहोर बिहीबार भोलिदेखि उठ्ने भएको छ । पोखरा महानगरपालिकामा बुधबार भएको बैठकले बिहीबारदेखि फोहोर संकलन गर्ने र पोखरा–३२ स्थित लामेआहालमा व्यवस्थापन गर्ने दुईहप्ते सहमति गरेको छ ।

वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनका लागि फोहोर व्यवस्थापन गर्न पोखरा–३२ ले सहजीकरण गर्ने बताए । तर, १६औँ दिनदेखि भने फेरि फोहोर सडकमै हुनसक्ने चेतावनी पनि उनले दिए ।

पोखरा महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित फागुन ३ गतेदेखि पोखरा भ्रमण वर्ष मनाउँदै छ । भ्रमण वर्ष नजिकिएको र सडकमा फोहोर थुप्रिँदा पोखराको नकारात्मक सन्देश जानसक्ने कारण आफूहरूले महानगरलाई सहयोग गरेको कार्कीले बताए ।

पोखरा–३२ मा फोहोर फाल्नको लागि महानगरपालिकाले विभिन्न १४ बुँदे सहमति गरेको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएका कारण नै पटकपटक पोखराको सडकमा फोहोरहरू थुप्रिने गरेका छन् । पछिल्लोसमय फोहोर फाल्ने समयावधि गत शुक्रबारदेखि सकिएको थियो । त्यसपछि फोहोर उठ्न सकेको छैन ।

महानगरले विगत दुई वर्षयता अस्थायी रूपमा लामेआहाललाई फोहोर व्यवस्थापन केन्द्र बनाएको छ । तर, त्यहाँका स्थानीयको मागलाई बेवास्ता गरेका कारण फोहोर फाल्नै नदिने अडानमा उनीहरू थिए । बुधबार भएको बैठकमा नियमित रूपमा फोहोर व्यवस्थापन गर्नका लागि पोखरा ३२ ले १५ करोेड रुपैयाँ माग गरेको छ ।

वडाध्यक्ष कार्कीचाहिँ उक्त रकम महानगरले वडासँग गरेको सम्झौता कार्यान्वयन गर्नेक्रममा सञ्चालन हुने योजनामा खर्च हुने बताउँछन् ।

महानगरले लामेआहालमा फोहोर बिसर्जन गर्नुअघि स्थानीयसँग सम्झौता गरेको थियो । ६ महिनाका लागि अस्थायी रूपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि पालना नभएको आरोप स्थानीयको छ । जसकारण उनीहरूले फोहोर फाल्न रोक लगाएका हुन् ।

पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पुर्‍याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो ।