जन्मभुमि खबर ,
पोखरा ।
हिउँद लागेसँगै मेलामहोत्सवको माहोल सुरु भएको छ । दसैँतिहार जस्ता ठूला चाडपछि देशैभर महोत्सवको लहर नै चल्छ । मेलामहोत्सवले स्थानीय अर्थतन्त्रलाई केही हदसम्म भए पनि गतिशील बनाउन मद्दत पुग्ने आयोजक बताउँछन् । पछिल्लोपटक बजारमा आर्थिक गतिविधि सुस्ताइरहेका बेला आयोजना गरिने मेलामहोत्सवले व्यापारीलाई पनि राहत पुग्ने गरेको छ ।
बिसौँ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्न लागेको कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले महोत्सव राख्नुको मूल ध्येय पर्यटन र व्यवसाय प्रवद्र्धन रहेको बताए । “स्थानीय उत्पादनसहित वस्तु तथा सेवाको किनमेल हुने हुँदा महोत्सव व्यवासायीका लागि पनि एउटा अवसर हो”, उनले भने । सङ्घले यही पुस १८ देखि आगामी माघ १ गतेसम्म लेखनाथ महोत्सव आयोजना गर्दैछ ।
उक्त महोत्सवका लागि हालसम्म ७५ प्रतिशत व्यावसायिक कक्ष बुकिङ भइसकेको आयोजकले जनाएको छ । महोत्सवमा ३३६ ‘स्टल’ रहनेछन् । महोत्सवमा कृषिजन्य उत्पादन, हस्तकलालगायतका प्राथमिकता दिइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रर्वद्धनको उद्देश्यसहित मेलामहोत्सवको आयोजना हुने गरेका छन् ।
पर्यटकीय राजधानी पोखरामै १३औँ संस्करणको पोखरा महोत्सव पनि यही पुस २५ देखि माघ ७ गतेसम्म आयोजना हुने भएको छ । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मेलामहोत्सवले टेवा पुग्ने बताए ।
“महोत्सवले आर्थिक गतिविधि बढ्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्”, उनले भने, “विभिन्न कारणले सुस्ताएको व्यवसाय क्षेत्रलाई महोत्सवबाट थोरै भए पनि राहत पुग्छ ।” महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर क्लबले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उहाँले बताउनुभयो । क्लबले महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत काममा खर्च गर्दै आएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको छेकोमा बर्सेनि पोखरामा आयोजना हुने अर्को महोत्सव हो, पोखरा सडक महोत्सव । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा यस वर्ष २६औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने आदर्श वाक्यका साथ यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।
फेवा किनारमा आयोजना गरिने उक्त महोत्सव पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण रहँदै आएको छ । महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता रहेका आयोजकले जनाएको छ ।
कलाकारलाई पनि महोत्सवमा भ्याइनभ्याइ हुने गर्छ । कलाकारको व्यावसायिक लाभका लागि महोत्सव महत्वपूर्ण माध्यम बनेको छ । महोत्सवले गाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याई पु¥याउँछ । जातजातिका मौलिक वेशभुषासहितका नाच र झाँकीले महोत्सवमा उल्लास थप्ने गरेको छ । लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफै पनि लालयित हुन्छन् । पैसा खर्चेर भए पनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन् ।