जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका-१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।

याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक-एकवटा नयाँ पुल निर्माण गरिएको हो। दुवै नयाँ पुलको लम्बाइ ५२-५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल निर्माणको काम पूरा नहुँदा कतिपय स्थानमा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा असहजता हुने गरेको थियो ।

विशेषगरी साँघुरो पुलका कारण विपरीत दिशाबाट आउने सवारीसाधनलाई पार गराउन समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो । अब सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त समस्या हटेको कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमनसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

‘सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटना हुने जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ। यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ’, सूचना अधिकारी शर्माले भने ।

तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो। सोहीअनुसार रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।  सम्झौताअनुसार निर्माणकार्य अघि बढाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन साविक धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन्। मालवाहक सवारी, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ ।