जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

न्यायाधीशलाई रविको प्रश्न- मलाई बाहिर छोड्दा के नै प्रमाण नष्ट गर्थें र ?

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ ।

प्रहरी अनुसन्धान सकिएको र अभियोगपत्र दर्ताका लागि अध्ययन भइरहेकाले थप समय चाहिने जिल्ला सरकारी वकीलको कार्यालयले दाबी गरेपछि अदालतले चार दिन म्याद थप गरेकाे हाे। जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन पुस १ मा जिल्ला सरकारी वकीलको कार्यालयलाई बुझाएको थियो ।

त्यसमा पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७०० बचतकर्ताको बचत रकम अपचलन गरिएको पाइएको उल्लेख छ। लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन राय दिइएको छ ।

उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, सहकारी ठगी र संगठित अपराधमा ६ वर्षको दरले कैद सजाय माग गर्नुपर्ने राय छ ।

आज अदालतमा उपस्थित गराइएका रविले आफूलाई बाहिर छाडिदिएको भए के नै प्रमाण नष्ट गर्थेँ भन्दै प्रश्न गरेका छन्। न्यायाधीश हिमलाल बेलबासेको २ नम्बर इजलासमा रविले मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान्? भन्दै प्रश्न गरेका थिए ।

रविको प्रश्नपछि न्यायाधीशले मुस्कुराउँदै भने, ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ ।’