जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई पर्साबाट कास्की ल्याइयो

जन्मभुमि खबर

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्साबाट कास्की पुर्‍याइएको छ।

बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको हो।

सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्‍याइएको थियो।

मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्‍याइएको हो।

लामिछानेसहित प्रतिवादीहरूलाई म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराउनुपर्नेछ।

सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो ।

सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।

अबको १० दिन भित्र प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेको मुद्दा अदालत दर्ता गरिसक्नु पर्नेछ । आइतबार मात्रै रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले छैटौँपटक चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो ।

आजै म्यादसमेत सकिनेछ । प्रहरीले लामिछाने विरुद्ध पुनः म्याद थप गर्ने र सोही थप म्यादको अवधिभित्र उनको मुद्दा अदालत दर्ता गराउने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ । अबको १० दिनमा दर्ता हुने मुद्दामा पाँचवटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनी थुनामुक्त हुनेछन् ।