जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा नल्याइ काठमाडौबाट चितवन पुऱ्याइयो रवि लामिछानेलाई, आजै बयान थाल्ने तयारी

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान काठमाडौँबाट चितवन पुर्‍याइएको छ ।

चितनवस्थित सहारा चितवन सहकारी ठगी आरोपमा बयान लिन पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई चितवन लगिएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले दिएको जानकारीअनुसार लामिछाने केही बेरअघि चितवन अवतरण गरिसकेका छन् ।

‘अब उनलाई चितवन जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा लगी आजै बयान थाल्ने तयारी छ’, डीएसपी रिजालले भने ।

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन गत बिहीबार (मंसिर १३ गते) काठमाडौँ ल्याइएको थियो ।

कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग प्रहरीले शुक्रबारदेखि (शनिबारबाहेक) सोमबारसम्म ३ दिन बयान लिएको थियो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।