जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप , जिल्ला सभापति सहित २० भन्दा बढी प्रहरी घाइते

जन्मभुमि खबर ,
पोखरा ।

चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।

रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।

चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा रास्वपाका चितवन जिल्ला सभापति कृष्ण भुसालसहितका नेताहरु घाईते भएका हुन् । प्रदर्शनकारीलाई प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए ।

प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन ।