जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भौतिक पुर्वाधारमन्त्री ज्वालाद्वारा पोखरा–मुग्लिन सडकको अनुगमन , काममा तीव्रता दिन निर्देशन

जन्मभुमि खबर ,
पोखरा ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको शुक्रबार अनुगमन गरेका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले जानकारी लिएका हुन् ।

मन्त्रालयका सचिव, महानिर्देशकसहित मन्त्री ज्वालाले उक्त खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिएका छन् । पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो । पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिए ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा निर्माण हुने पुलको समेत निरीक्षण गरेका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क पुल बन्दैछ ।

पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उनले दुईवटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए । हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ । पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना, मध्यपहाडी राजमार्ग तथा पोखराको सेती नदीमा सिग्नेचर पुल निर्माणलगायत देखिएका समस्या हल हुँदै गएको बताए । मन्त्री ज्वालाले मुग्लिन पोखरा आयोजनाको पश्चिम–खण्डको काम पछिल्ला दुई महिनामा सन्तोषजनक रहेको बताए ।

उनले भने, “पश्चिम खण्डमा कामको गति अत्यन्त सुस्त भएपछि विकल्प खोज्नेमा पुगिसकेका थियौँ । हामीले पटकपटक अनुगमन र निर्माण व्यवसायीसँग बसेर छलफल गरेपछि अहिले सन्तोषजनक छ । अहिले पछिल्लो समय दुई महिनामा केही गतिमा काम भएको छ, अझै प्रगति बढाउने गरी काम गर्नुपर्दछ ।”

भौतिकमन्त्री ज्वालाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको कास्कीको पोखरा खण्डमा देखिएको एलाइमेन्ट विवाद समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक पुगिएको बताउनुभयो । पोखरा महानगरपालिका–१६ बाटुलेचौर हुँदै राजमार्ग विस्तारका लागि ठेक्का आह्वान भएपछि सो क्षेत्रका स्थानीयवासी एक वर्षदेखि आन्दोलनमा उत्रिएका छन् ।

मन्त्री ज्वालाले भने, “मध्यपहाडी राजमार्गको पोखरा क्षेत्रको समस्या समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक नजिक छौँ । समितिले उपभोक्ता, सर्वदलीय र सर्वपक्षीय भेला गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । पोखरामा क्लियर हुन बाँकी क्षेत्र पनि छिट्टै पूरा हुन्छ ।”

पूर्वाधार विकास र निर्माण स्थानीय सरकार, नागरिक समाज तथा सञ्चार क्षेत्र सबैको साझा सवाल भएकाले सबैको साथ र सहयोगमा मात्र त्यसलाई सम्पन्न गर्न सकिने बताए ।

मन्त्री ज्वालाले निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमा गरेको कामको बाँकी रहेको भुक्तानी अब नरोकिने बताए । उनले चालू आवका लागि चाहिने रकमका लागि अहिलेबाट नै पहल भइरहेको जानकारी दिए ।