जन्मभुमि खबर ,
पोखरा ।
पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।
फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताउनुभयो । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनीहरुको भनाइ थियो ।
दोस्रोपल्ट पोखरा आएका उनीहरुले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनिसँगै पोखरा घुम्न आउकि ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उहाँले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताए । श्रीमानका साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन ।
अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् ।
गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताछन ।
“अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्”, उनले भने । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ ।
भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उहाँको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताए । उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए ।
उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताउनुभयो । उनले भने , “यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।”
उनले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भन्नुभयो, “धेरै भारतीयले पोखरा घुम्न रुचि देखाएका छन, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उनिहरुको गुनासोे छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उनीहरुको द गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।”
उनले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उहाँहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताउनुभयो । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउछन । उनले भने, “विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।”
उनले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उनले जानकारी दिए ।