जन्मभुमि खबर ,
पोखरा ।
पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ ।
पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि शुक्रबार दिउँसो उनी डुबेका हुन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले उनलाई तालको करिब ३० फिट गहिराइबाट बाहिर निकालेको हो ।
फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा अचानक तालमा डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली घटनास्थल खटिएको थियो ।
टोलीले आवश्यक उद्धार सामग्रीसहित खोजतलास सुरु गरेकोमा दिउँसो २ बजेर ५० मिनेटमा तामाङलाई फेला पारेको थियो ।
उनलाई तालबाट निकाले लगत्तै थप उपचारका लागि अस्पताल पठाइएको छ ।
सशस्त्र प्रहरीले उनलाई दिउँसो २ बजेर ५५ मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पु¥याएको छ ।
अहिले तामाङको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाका बारेमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति २०८३ भदौ २० गते शनिबार