जन्मभुमि खबर ,
पोखरा ।
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक सूचना जारी गर्दै आज ८ गते र भोलि ९ गते विद्यालयहरू बन्द रहने बताएका छन् ।
मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको हो। यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ ।
अतिक्रमण र जोखिमबाट बच्नका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरले अनुरोध गरेको छ । ‘सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ,’ सूचनामा भनिएको छ ।
बिदा दिएका यी दुई दिनको पठनपाठनलाई क्षति नपुग्ने गरी पछि अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरले जनाएको छ। विपद्को यो समयमा सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।